अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म भरतपुर घुम्न सकिन्छ : प्रमुख दाहाल

भरतपुर, १८ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म भरतपुर घुम्न सकिने बताउनुभएको छ ।

शुक्रबार नारायणी किनारमा सञ्चालित भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर घुम्न आउन समेत उहाँले आग्रह गर्नुभयो । प्रमुख दाहालले भ्रमण वर्षबाट सिंगो पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्रुभयो, ‘अनुपम सुन्दरता युक्त यस पवित्रभूमि सुन्दर छ । सबै प्राकृतिक सांस्कृतिक धार्मिक विविधताहरुले भरिपूर्ण छ । आवश्यक पूर्वाधारहरु तयार गरिरहेका छौं, अविस्मरणीय अनुभव सहित पाँच दिनसम्म घुम्न सकिन्छ ।’ उहाँले दुर्लभ पाटेबाघ र एक सिंगे गैँडा प्रत्यक्ष हेर्ने व्यवस्था गरिएको बताउनुभयो ।