वडा युवा क्लब भरतपुर २५ द्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

शुक्रनगर, ३० फागुन । वडा युवा क्लब भरतपुर २५ को आयोजनामा  “लागु पदार्थ  नियन्त्रणमा विद्यार्थीको भूमिका” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वक्तृत्वकला प्रतियोगिता  बुधवार प्रभात माविको सभा हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यालले भरतपुर महानगरमा गठित युवा क्लब मध्ये जनचेतनामूलक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने पहिलो क्लब भरतपुर २५ भएको बताउनुभयो । बढ्दो लागू औषधलाई नियन्त्रण गर्ने महानगरको अभियानलाई सफल बनाउनका लागि युवा क्लबले यस किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेमा शैक्षिक प्रशासन महाशाखाले सम्पूर्ण  सहयोग  गर्ने पौड्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि एवम् भरतपुर २५ का कार्यवाहक वडा अध्यक्ष चमेली विकले युवाहरूले आटे असम्भव भन्ने केही नरहेको बताउनुभयो । वडाले पनि लागू पदार्थ बेचबिखनमा कडाइ गरेको बताउँदै युवा क्लबले यस्तै अन्य रचनात्मक र शैक्षिक अतिरिक्त कार्यक्रम ल्याएको खण्डमा वडा र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग पुर्‍याउने बाचा गर्नुभयो ।

प्रतियोगिताको निर्णायक मण्डलमा डोलराज तिवारी र सूर्यप्रकाश जमरकट्टेल रहनुभएको थियो । वक्तृत्वकला प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै प्रभात मावि द्वितीय र  मदरल्याण्ड इलिङ्स बोर्डिङ स्कुल तृतीय भएको छ ।

प्रभात मावि का प्रधानाध्यापक होमनाथ भण्डारी, महानगर युवा सञ्जालका अध्यक्ष अन्जन दवाडी, शुक्रनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष धनकुमारी रिजाल, प्रभात माविका शैक्षिक गुणस्तर संयोजक हरिदत्त बस्याल, गोल्डेन फ्युचर एकेडेमीका एकेडेमी चिफ सजल गौतम, मदरल्याण्ड इङ्लिस  बोर्डिङ स्कुलका शिक्षक हरि प्रसाद रिजाल लगायत अतिथिहरूको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष दीपिका काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष सुवास न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको भने कार्यक्रमलाई क्लबका सचिव विनोद अधिकारीले गर्नुभएको थियो।

कार्यक्रममा पुरस्कारको सौजन्य शुक्रनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष धनकुमारी रिजालले गर्नुभएको थियो ।