मुगुमा जीप दुर्घटना, दुई जनाको मृत्यु

मुगु- मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

घाइते एक जनाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पताल पुर्याइएको छ ।  दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।