विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने

चितवन। हरेक वर्ष चैते दसैँको अवसर परेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र राप्ती किनारामा लाग्ने मेलाको यसअघि स्थानीय सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गर्दै आएकामा यस वर्षदेखि महानगरले व्यवस्थापन गर्ने भएको हो ।

मेला व्यवस्थापनका लागि महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा सात सदस्यीय पूजा व्यवस्थापन मूल समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय, महानगर–२३, चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि रहेका भरतपुर-२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । उनका अनुसार समितिको सदस्यसचिवमा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल रहेका छन् ।

मेला व्यवस्थापन तयारीका लागि वडाध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमिति समेत गठन गरिएको उनले बताए ।कार्यसमितिले मूल समितिअन्तर्गत रहेर पार्किङ व्यवस्थापन, मेलामा राखिने स्टल व्यवस्थापन, खानेपानी, शौचालय, वनभोज स्टल र फोहोर व्यवस्थापनलगायत काम गर्ने वडाध्यक्ष दवाडीले जानकारी दिए ।

राष्ट्रिय निकुञ्जभित्र हुने पूजा व्यवस्थापनका लागि पूजा समन्वय समिति गठन भएको छ । निकुञ्जको नेतृत्वमा महानगरका प्रतिनिधि रहने गरी समिति गठन गरिएको भन्दै समितिले पूजा कार्यविधिअनुसार काम गर्ने उनको भनाइ छ ।

मेला हुने समयमा स्थानीय जग्गाधनीले स्टल राख्नका लागि हातको हिसाबले एक हातको रु तीन देखि १५ हजारसम्म लिने गरेको जनगुनासो बढेपछि यस वर्ष महानगरले मेलाको कामलाई अघि बढाएको वडाध्यक्ष दवाडीको भनाइ छ ।

उनको नेतृत्वमा बनेको कार्यसमितिले स्टल राख्दा जग्गाको मूल्यसमेत निर्धारण गर्ने जनाइएको छ ।

वडाध्यक्ष दवाडीले भने, ‘मेला व्यवस्थापन र यहाँको महङ्गी नियन्त्रणका लागि महानगरले चासो देखाएको छ । यसपालिको मेला पहिलेको भन्दा निकै व्यवस्थित हुने विश्वास लिएका छौँ ।’

यही चैत २६ गतेदेखि आगामी वैशाख ११ गतेसम्म चितवन राष्ट्रिय निकुञ्जको कसराभित्र रूखहरुको फेदमा थान बनाएर बिक्रमबाबाको पूजा गरिन्छ भने भरतपुर-२३ मा पर्ने केरुङ्गा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बिक्रमबाबा मेला लाग्ने गर्दछ ।

मूल समितिका संयोजक एवं महानगरका उपप्रमुख अधिकारीले मेलामा देखिएका अस्तव्यस्ततालाई नियन्त्रण गर्न महानगरले काम अघि बढाएको बताए ।उनका अनुसार यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने, सन्तान सुख तथा समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ ।

विशेषगरी, थारू समुदायले मनाउँदै आएको यो मेलामा पछिल्ला वर्षहरुमा अन्य समुदायले पनि उत्तिकै आस्थाका साथ सहभागिता जनाउँदै आएका उपप्रमुख अधिकारीको भनाइ छ । उनले भने, ‘पूजा गर्न आउने भक्तजनदेखि मेला भर्न आउने दर्शकसम्मलाई सुरक्षित महसुस हुने गरी महानगरले काम गरिरहेको छ ।’

यस वर्ष करिब ६ लाख ५० हजार भक्तजनले विक्रमबाबाको दर्शन गर्ने अनुमान गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए । एसइई परीक्षा सकिने र नेपाली नयाँ वर्ष हुने भएकाले भक्तजनको सङ्ख्या बढ्ने अनुमान गरिएको उनले बताए ।

गत वर्षहरुमा पाँच लाख हाराहारीमा भक्तजन पूजा गर्न आउने गरेका थिए । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई यस मेलाले सहयोग पुग्ने अधिकारीले बताए ।