खाम पुर्पक्षका लागि कारागार चलान

चितवन । रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको  थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

व्यापारी श्रेष्ठको २०६५ सालको बैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो ।

शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापा लगायतविरुद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर ६८ सालमा तीन वर्षकाे कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् । खामलाई गत मंगलबार प्रहरीले काठमाडौँको ठमेलमा पक्राउ परेका थिए ।