काठमाडौं, ४ फाल्गुन । नेपालका दुई प्रमुख डिजिटल वालेट खल्ती र आईएमई पे एक-आपसमा गाभिने भएका छन् । आइतबार दुवै कम्पनीबीच यस विषयमा लिखित सम्झौता भएको हो ।
नेपालमै पहिलो पटक भएको वालेट मर्जरपश्चात ग्राहकले एउटै एपमा खल्ती र आईएमई पेका सबै सुविधा पाउनेछन् । मर्जरपछि वालेटको नाम ‘आईएमई खल्ती’ राख्ने निर्णय भएको आईएमई पेका एक अधिकारीले जानकारी दिए । उनका अनुसार यस विषयमा विस्तृत जानकारी चाँडै दिइने छ ।
नियामक नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ मा संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको थियो । संशोधित विनियमावलीमा भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरू एक-आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्नसक्ने व्यवस्था उल्लेख छ ।
खल्ती र आईएमई पेबीच एकीकृत कारोबार सुरु भएपछि ग्राहक संख्याका आधारमा देशकै ठूलो वालेट बन्ने बताइएको छ ।