चितवन, ४ फागुन । चितवनको भरतपुर महानगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लक्ष्यभन्दा कम किशोरीले लगाएका छन् । १६ हजार ७ सय ४८ जना छात्रालाई लगाउने लक्ष्य राखिएकोमा फागुन ४ गतेसम्ममा १२ हजार ७ सय १० जना छात्राले मात्र खोप लगाएका छन् । लक्ष्यभन्दा ४ हजार ३८ जना कम किशोरीले खोप लगाएको भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो ।
भरतपुरमा माघ २२ गतेदेखि खोप अभियान जारी छ । यो अवधिमा भरतपुरको वडा नम्बर १० मा सबैभन्दा धेरै किशोरीले खोप लगाएको सुवेदीले जानकारी दिनुभयो । त्यसपछि वडा नम्बर ४ र ९ का किशोरीले खोप लगाएका छन् ।
भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्यययन गर्ने किशोरीलाई लगाउन लगाइएको हो । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरका समुहका किशोरीले खोप लगाइराखेका छन् ।
यसअघि भरतपुर क्यान्सर अस्पतालमा ५ हजार किशोरीले खोप लगाएको उहाँले बताउनुभयो । भरतपुरमा खोप सेवाका लागि १ सय ९३ खोप केन्द्र, २ सय १ जना स्वास्थ्यकर्मी र ४ सय २ जना स्वास्थ्यकर्मी खटिएका छन् । खोप अभियान चितवनसहित देशभर चलिरहेको छ ।