चितवन, ५ फागुन । चितवनका किसानले अण्डामा लेभलिङ गर्न थालेका छन् । आफुले उत्पादन गरेका अण्डाको गुणस्तरबारे जानकारी दिनका लागि यहाँका किसानले अण्डाको क्रेटमा लेभलिङ राख्न थालेका हुन् । खुल्ला पालिका र केजमा पालिएका कुखुराले दिने अण्डाको गुणस्तर फरक हुने भएकाले उपभोक्तालाई जानकारी गराउन अण्डामा लेभलिङ गर्न थालिएको अण्डा उत्पादक किसान दिपक पाण्डेले जानकारी दिए ।
चितवनमा ठुला किसानहरुले ब्याट्रीकेजमा राखेर कुखुरा पालन गर्दछन् । तर, फ्रि केजमा राखेर पालिएको कुखुराबाट उत्पादित अण्डाको गुणस्तर धेरै राम्रो हुने एनिमल नेपाल चितवनका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले जानकारी दिए । ‘ब्याट्रीकेजको तुलनामा डबल समयसम्म बिग्रिदैन,’ उनले भने ‘विभिन्न अध्ययनले पनि पौष्टिक तत्व बढी हुने देखाएको छ ।’
उनका अनुसार, ब्याट्रीकेजमा पालिका कुखुराबाट उत्पादित अण्डामाभन्दा दुई तिहाई बढी भिटामिन ए, तीन गुणा बढी भिटामिन ई, सात गुणा बढी बिटा क्यारोटीन, दोब्बर बढी ओमेगा, छ गुणा बढी भिटामिन डी लगायतका पौष्टिक तत्व पाइन्छ । मानिसको आँखाका लागि चाहिने एन्टिअक्सिडेन्ट, लुटेन र जेक्साथिन समेत केज फ्रि अण्डाको पहेँलो भागमा बढी पाईएको उनले बताए ।
एनिमल नेपालका अनुसार चितवनमा अण्डा उत्पादक किसान सय जनाको हाराहारीमा छन् । त्यसमध्ये १० जना किसानले केजमा कुखुरा पाल्दै आएका छन् । बाँकी किसानले फ्रि केजमा पालन गर्दै आएका छन् । फ्रि केजबाट उत्पादित अण्डाको गुणस्तरबारे जानकारी गराउन सके साना किसान र उपभोक्तालाई समेत फाइदा पुग्ने एनिमल नेपालकी प्रमुख सुलक्षणा राणा बताउँछिन् । भुई खोस्रने र पखेँडा चलाउने कुखुराको नेचर भएकाले साँघुरो खोरमा पाल्न नहुने उनले बताइन् । खुल्ला छाडेर पालिका कुखुराले अण्डा समेत धेरै दिने उनको भनाई छ ।