काठमाडौं, ५ फागुन । सौर्य जहाज दुर्घटनाका विषयमा छानवीन गर्न संसद्ले चासो देखाएको छ ।
संसदको राज्यव्यवस्था र सुशासन समितीले उक्त दुर्घटना परेको निवेदन उपर छानवीन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको हो । आइतबार गठित उपसमितिका सांसद सदस्यहरूमा सरिता प्रसाई, चन्दा कार्की, दुर्गा राई र मेनका कुमारी पोखरेल रहेको सभापति रामहरि खतिवडाले जानकारी दिए । उपसमितिलाई घटनाका सम्बन्धमा परेको उजुरीको छानवीन गरी कारबाहिको सिफारिस गर्ने अधिकार प्रदान गरिएको सभापति खतिवडाले जानकारी गराए ।
घटनाका सम्बन्धमा सौर्य जहाज दुर्घटनामा छोरी, ज्वाई र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले समितिमा दुई महिना अघि नै उजुरी गरे पनि बल्ल उपसमिति बनेको हो । उजुरीमा खतिवडाले सौर्य जहाज घटना दुर्घटना नभई गम्भिर अपराध भएको आरोप लगाएका छन् । उजुरीमा सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षले १२ वर्षदेखि उर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडा र ४ वर्षे नाति अधिराज शर्मालाई फर्जी कागजात तयार गरी एयरलाईन्सको कर्मचारी बनाएर गैरकानूनी हर्कतगरेको दाबी गरिरहेका छन् ।
दुर्घटना भएको जहाजको उडान नै गैर कानुनी रहेको, गैर व्यावसायिक ५ जनामात्र बोक्न पाउने ‘ फेरी’ उडानमा १८ जना बोकेर उनीहरुको ज्यान लिएको, सरकारी जाँच आयोग बिधि मिचेर बनाइएको, आयोगले एयरलाईन्सको आर्थिक चलखेलमा नियोजित प्रतिवेदन तयार पारी घटनाका दोषिलाई उन्मुक्ति दिने प्रपन्च रचेको आरोप लगाइएको छ । घटनाका सम्बन्धमा पीडित परिवारको तर्फबाट न्यायका लागि सौर्य एयरलाईन्स, नेपाल नागरी उड्यन प्राधिकरण, प्रभु इन्सुरेन्स, नेपाल विमा प्रधिकरण, सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री र प्रधानमन्त्री तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितीमा समेत उजुरी दिदा पनि बेलैमा सम्बोधन नगरेर राज्यव्यस्था र सुशासनको खिल्ली उडाएकोले थाको नपाएकोले संसदको राज्यव्यवस्था र शुशासन समिती गुहार्न बाध्य भएको उजुरीपत्रमा उल्लेख गरेका छन् ।
खतिवडा भन्छन, ‘एयरलाईन्स कम्पनी र सरकारी निकायले कानुनको पालना मात्र गरेको भए मैले मेरा तीन सन्तति गुमाउनु पर्ने थिएन ।’ सौर्य एयरलाईन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाई र नातिसहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाईलट मनिष शाक्य भने बाँच्न सफल भएका थिए ।