चितवन, ६ फागुन । भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा अर्किड इङलिस स्कुल र नारायणी नमुना मावि समूहका शीर्ष स्थानमा रहेका छन् । दुई समूहमा विभाजन गरिएको १० वटा टिमले दुई खेल खेल्दा अर्किड र नारायणी नमुना मावि आ–आफ्ना समूहको शीर्ष स्थानमा उक्लिएका हुन् ।
त्यसैगरी दुवै खेलमा जित निकाल्दै ४ अंक र ४.५५ नेटरनरेटको साथ नारायणी नमुना मावि समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ । एकमा जित र एक हार व्यहोरेको सनराइज इङलिस स्कुल २ अंक र ०.१६३ नेटरनरेटका साथ समूहको दोस्रो स्थानमा रहेको छ । समान २ अंक बनाए पनि नेटरनरेटले प्रेरणा इङलिस स्कुल र लक्ष्मी मावि लंकु तेस्रो र चौथो स्थानमा रहेका छन् । दुवै खेलमा पराजित हुँदै अंकविहिन रहेको अरोमा इङलिस स्कुल समूहको पुछारमा रहेको छ ।
प्रतियोगिता अन्तरगत आज भएको खेलमा अरोमालाई ७ विकेटले हराउँदै लक्ष्मी माविले लिग चरणमा पहिलो जित दर्ता गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अरोमाले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । उसका लागि ललन कुमार यादवले २३ र आशिफ शेखले १७ रन बनाए । लक्ष्मी माविका उपेन्द्र यादवले ६ ओभरमा ३६ रन खर्चिदै ४ विकेट लिए भने पंकज यादवले ५.३ ओभरमा २६ रन खर्चिदै २ विकेट लिए ।
११८ रनको झिनो लक्ष्य पछ्याएको लक्ष्मी माविले २२.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । लक्ष्मीको जितमा पंकज यादवले ६२ बलमा ७० रनको अविजित अर्धशतकीय पारी खेले । पंकले १० चौका र २ छक्का प्रहार गरे । उनलाई विजय प्रसाद यादवले ६५ बलमा १६ रन बनाएर अविजित साथ दिए । यी दुवैले १११ रनको अविजित साझेदारी गरे । लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको लक्ष्मी मावि पहिलो ओभरमै २ विकेट गुमाएपछि दवाबमा परेको थियो । दोस्रो ओभरमा थप एक विकेट गुमाउँदै ८/३ को अवस्थामा पुगेको थियो । त्यसपछि लक्ष्मीको इनिङ पंकज र विजयले उकास्दै टिमलाई अविस्मरणीय जित दिलाए । पंकले विजयी चौका प्रहार गरेका थिए ।
भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरुलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमीफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको हो । लिग चरणका खेलहरु रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाईदैछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमीफाइनलमा स्थान बनाउने छन् । लिग चरणका खेलहरु फागुन १५ गते सकिदैछ ।