बुटवल, ८ फागुन । वडाध्यक्षले माफी मागपछि रुपन्देहीको रोहिणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच उत्पन्न विवाद साम्य भएको छ । जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कर्मचारीबीचको छलफलमा वडानम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले माफी मागेपछि विवाद मिलेको हो ।
पालिकाको शिक्षा समिति कार्यकाल पूरा नहुँदै आफूहरुलाई जानकारी नदिई पुनर्गठन गरेको भन्दै वडाअध्यक्ष खान गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधुप्रसाद घिमिरेसँग पहिल्यैदेखि रुष्ट थिए । २०८१ फागुन ५ गते गाउँ कार्यपालिका बैठकमा घिमिरेले बोल्ने क्रममा विवाद उत्पन्न भई दुवै पक्ष हात हालाहालमा उत्रिएका थिए । घटनापछि दुवै पक्षले एक अर्कालाई दोष दिंदै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको छलफलमा वडाअध्यक्ष खानले घिमिरेमाथि हातपात, कुटपिट तथा गालीगलौज गरेकोमा आत्मालोचना गर्दै आगामी दिनमा गैरकानूनी कार्य नगर्ने भन्दै माफी मागेपछि सहमति जुटेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । उक्त सहमतिसँगै कर्मचारीहरुले पालिकामा गरेको हड्ताल अन्त्य भएको र आज बिहीबारदेखि कामकाज पूर्ववत सुरु हुने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेशकुमार चौधरीले बताए ।