काठमाडौँ, ९ फागुन । कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-३ घट्टेका ३७ वर्षिय वीरमानसिंह भुलन तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२० सुनाकोठीबाट बिहीबार पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार तामाङलाई जिल्ला अदालत भक्तपुरे २०७८ भदौ ३ गते २० वर्ष कैद सजाय फैसला गरेको थियो।
२०६६ साल मंसिर २६ गते राति साढे १२ बजे तामाङले बा१ज ९१४ नम्बरको ट्याक्सी चालक रोशी गाउँपालिका-४ का २३ वर्षीय मेघबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए । त्यसबेला वीर मान सिंहसहित चार जना घटनामा संलग्न थिए। अन्य अभियुक्त पक्राउ परिसकेका छन् ।
तामाङको खुट्टा बाँधेर घाटीमा गलबन्दीले कसेर हत्या गरिएको थियो । हत्यापछि उनको साथबाट नगद र मोबाइल लुटपाट गरिएको थियो । वीरमान सिंहलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ।