चितवन, ९ फागुन । चितवनमा सवारी दुर्घटना दोब्बरले बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा ५०८ वटा सवारी दुर्घटना भए । जसबाट ७० जनाको मृत्यु भयो भने ११० जना गम्भीर घाइते भए । दुर्घटनामा ७७२ वटा सवारीसाधन संलग्न देखिन्छन् । चालू आवको सुरूको चार महिनामा २६१ वटा दुर्घटना भएका थिए । पछिल्लो दुई महिनामा मात्रै २४७ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
जिल्लामा दुर्घटना बढ्दै गर्दा मृत्युदरमा भने कमी आएको छ । सुरूको चार महिनामा दुर्घटनाबाट ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई महिनामा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार दुर्घटनाबाट चालू आवको साउनमा १०, भदौमा पाँच, असोजमा १३, कात्तिकमा १८, मङ्सिरमा १०, पुसमा सात र माघमा सात जनाको मृत्यु भएको छ ।
चालू आवमा सडकअनुसार दुर्घटनाको विवरण हेर्दा पूर्व–पश्चिम राजमार्गमा १२१ वटा दुर्घटना भए, जसबाट २० जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकमा ५४ वटा दुर्घटना हुँदा २२ जना, पृथ्वी राजमार्गमा ११ वटा दुर्घटना हुँदा एक जना र सहरी सडकखण्डमा ४३ वटा दुर्घटनामा परी तीन जनाको मृत्यु भएको देखिन्छ । अन्य भित्री सडकखण्डमा २७९ वटा दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनाको समयअनुसार हेर्दा बेलुका ६ बजेदेखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका छन् । यस अवधिमा २१७ वटा दुर्घटना भएको शर्माले बताए । त्यस्तै, राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६ वटा, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म ९१ वटा र दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म १६४ वटा दुर्घटना भएको उनले जानकारी दिए ।
सवारी दुर्घटनाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ११५ जनाको मृत्यु भएको थियो । त्यसअघि आव २०७८/७९ मा १४० र आव २०७९/८० मा ७८ जनाको मृत्यु भएको थियो । चालू आवको माघ मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ९५८ सवारीसाधन कारबाहीमा परेका छन् । उनीहरुबाट एक करोड सात लाख १२ हजार रूपैयाँ जरिवाना असुल गरिएको छ ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’को अवधारणाअन्तर्गत प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भइरहेको उनले बताए । ट्राफिक प्रहरीले ट्राफिक शिक्षकहरुलाई तालिम दिने गरेको छ । ट्राफिक शिक्षकहरुले विद्यार्थीलाई ट्राफिक शिक्षा दिनुपर्ने छ । ट्राफिक शिक्षाका लागि ट्राफिक प्रहरी कार्यालयले शिक्षकलाई आवश्यक सामग्रीहरु पनि प्रदान गर्दै आएको छ । त्यस्तै, दुर्घटना न्यूनीकरणकै लागि आँपटारीमा ट्राफिक रिफ्रेस सेन्टरको स्थापना पनि गरिएको छ ।