चितवन, २१ चैत ।नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जनतालाई झुट, धोका र भ्रम दिएर राजनीति चलाइरहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अधिवक्ता समेत रहेका पाठकले २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा सुकुमबासीलाई नक्कली लालपुर्जा बाँडेर रेनु दाहाल भरतपुरको मेयर बनेको बताएका छन् ।
उनले लेखेका छन्, ‘गत स्थानीय चुनावमा प्रचण्ड, रेनु र बद्रिजीले बाड्नु भएको लालपुर्जाको रेकर्ड मालपोतमा भेटिएन रे, नक्कली लालपुर्जा बाडेर मेयर हुनुभएछ रेनु कमरेड । पहिलो पटक मतपत्र च्यातेर चबाएर मेयर हुनु भो रेनु कमरेड, दोस्रो पटक नक्कली लालपुर्जा बाडेर सुकुम्वासी, भुमिहिन र अब्यबस्थित जनतालाई धोका दिएर मेयर हुनु भएछ ।’
विकास निर्माणको कुरामा पनि मेयर दाहालले देश र जनतालाई झुक्याएर भ्रमपूर्ण प्रचार गरिएको पाठकले बताएका छन् । ‘विकाशकै कुरामा पनि देश र जनतालाई झुक्याएर भ्रमपुर्ण प्रचार गरिएको छ । जनतालाई झुट धोका र भ्रम दिएर राजनिती चलाई रहेका छन् बाउ, छोरीले’, उनले लेखेका छन् ।