तुलसीपुर, २ वैशाख। पोहर वर्षको तुलनामा यसवर्ष दाङको तुलसीपुर क्षेत्रमा पक्राउ पर्ने लागूऔषध कारोबारीको संख्यामा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको अवधिमा २४ जना अभियुक्त पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले २० ग्राम २२१ मिलिग्राम ब्राउन सुगर र २६ सय ९० ट्रामाडोल ट्याबलेट बरामद गरिएको थियो ।
तर अघिल्लो वर्षको आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा १३ जना लागूऔषध कारोबारी पक्राउ परेका थिए । उनीहरूको साथबाट प्रहरीले ब्राउनसुगर ८ ग्राम ३०० मिलिग्राम, अफिम १३ किलो र ट्रामाडोल ३१० क्याप्सुल बरामद गरेको प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिनुभयो । असोज १६ देखि फागुन मसान्त सम्मको ६ महिनालाई तुलना गर्दा पक्राउ पर्ने लागूऔषध कारोबारीको संख्या ११ जनाले बढी देखिन्छ ।
के भन्छ तुलसीपुर ?
अवैध लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्टको नामले परिचित तुलसीपुर क्षेत्रमा विशेष अभियान चलाएकै कारण सफलता प्राप्त गरिएको प्रहरीले जनाएको छ ।
आफू भएदेखिनै विशेष प्रहरीको टिम बनाएर अभियान चलाएकै कारण पक्राउ पर्ने लागूऔषध कारोबारीको संख्या वृद्धि भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले बताउनुभयो ।
‘तुलसीपुर ट्रान्जिट प्वाइन्टको नामले परिचित रहेछ । यसका लागि मैले विशेष टिम बनाए । त्यसपछि कारोबारीको पहिचान, विशेष कारोबार गर्ने उनीहरूको अड्डा, बोल्दा प्रयोग गर्ने कोट भाषाको विषयमा केही जानकारी प्राप्त भयो । त्यसपछि निरन्तर अभियान सञ्चालन गरियो । केही सफलता प्राप्त गरियो ।’ डीएसपी ठकुरीले भन्नुभयो ।
तुलसीपुर बजार र आसपासका गाउँमा समेत लागूऔषध सेवन कर्ताको सङ्ख्यामा वृद्धि भएको जानकारी आफूले पाएको भन्दै यसको नियन्त्रण र रोकथामका लागि सबैभन्दा पहिला अभिभावक सचेत हुनुपर्ने बेला भएको उहाँले बताउनुभयो ।