ट्रकमा लुकाएर चीन लग्दै गरेको २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा सहित चालक पक्राउ परे पनि राजनीतिक र प्रशासनिक संरक्षणमा अवैध कारोबारको साम्राज्य खडा गर्न सफल गिरोह भने जोगिएको छ।
चीनतिर जाँदै गरेको ट्रकलाई गत चैत ४ गते राति ११ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट नियन्त्रणमा लियो। ट्रक चालक कुसाङ लामा पनि पक्राउ परे। चालकको सिटमाथि सामान राख्न बनाइएको बाकसमा लुकाएर राखेको २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ बराबरको युरो र अमेरिकी डलर प्रहरीले बरामद गर्यो।
बरामद गरिएको विदेशी मुद्रा र चालक सहित ट्रकलाई प्रहरीले भोलिपल्टै राजस्व अनुसन्धान विभागलाई बुझायो। यति ठूलो परिमाणमा बरामद भएको विदेशी मुद्राको तार सुन तस्करीमा जोडिने प्रहरीको आकलन थियो। पक्राउ परेका चालक कुसाङको पृष्ठभूमि पनि सुन तस्करीसँग जोडिएको थियो। चीनमा युरो र अमेरिकी डलर पुर्याएर तस्करीको बाटोबाट सुन ल्याउने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो।
३० दिनपछि वैशाख २ मा विभागले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको मुद्दामा न गिरोहको पहेली पहिल्याउन सकेको देखिन्छ न त सुन तस्करीको ‘कनेक्सन’ नै। यद्यपि विभागको अनुसन्धानमा संगठित गिरोह सामेल रहेको खुलाउने थुप्रै आधार भेटिन्छन्। तर, संगठित अपराधको कसूरमा भने अनुसन्धान नै गरिएन। विभागलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्ने अधिकार छैन, तर त्यसका लागि प्रहरीलाई आग्रह पनि गरेन।
विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे भने संगठित प्रकृतिको अपराध देखिएको भए प्रहरीले पहिल्यै अनुसन्धान नगरी किन विभागमा बुझाएको थियो भन्ने आफूले नबुझेको तर्क गर्छन्। “प्रहरीले बुझाएपछि एक तहको अनुसन्धान गरेर मुद्दा दर्ता गरेका छौं,” महानिर्देशक घिमिरे भन्छन्, “फरार अभियुक्त फेला परेपछि थप पाटो खुल्ला। अनुसन्धान सकिएको छैन। पूरक अनुसन्धानको बाटो खुला नै गरेर मुद्दा दर्ता गरेका हौं।”
यसमा प्रहरीको भने फरक तर्क छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेत विदेशी विनिमयको कसूरमा पक्राउ परेको २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीलाई बुझाउनुपर्ने कानूनी व्यवस्थाले गर्दा सुन तस्करी लगायत संगठित अपराधबारे अनुसन्धान गर्नै नभ्याइएको बताउँछन्। बस्नेत भन्छन्, “संगठित अपराध वा सुन तस्करीको ‘कनेक्सन’ देखियो भने विभागले समन्वय गरेमा प्रहरीले सघाउँछ।”
संगठित जालो
डलर, सुन र हुण्डीको कारोबार एक-अर्कामा जोडिन्छ। यसअघि २०६९ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड २४ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको थियो। त्यतिवेला गठित छानबिन समितिले त्यो रकम सुन तस्करीका लागि खाडी मुलुक यूएई लैजाँदै गरेको पाएको थियो।
अहिले २५ करोड बराबरको विदेशी मुद्रा सहित पक्राउ परेका कुसाङलाई जिल्ला अदालत, काठमाडौंले वैशाख ३ मा पुर्पक्षका लागि थुनामा पठाएको छ। यसमा मुख्य व्यक्ति भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ का ५१ वर्षीय नारायण पौडेल भने फरार छन्।
विभागको अनुसन्धानमा विदेशी मुद्रा कसरी चीन लग्न खोजिएको थियो भन्ने खुलेको छ। चन्द्रागिरी नगरपालिका-२ स्थित बाबा बालखण्डे बडी बिल्डर्स ग्यारेजमा १५ दिन लगाएर पैसा राख्ने बाकस बनाइएको थियो। त्यसपछि कुसाङले ट्रकलाई सर्भिसिङका लागि ठिमी लग्छन्। सर्भिसिङपछि एक दिन गोकर्णेश्वरको नयाँपाटीमा राखिन्छ। त्यसपछि जोरपाटीको शंकर अस्पतालछेउ रहेको पार्किङमा दुई दिन राखिन्छ। ट्रकलाई त्यहाँबाट निकालेर २०८१ चैत ४ गते बेलुकी ६ बजे टोखास्थित सिन्धु मेटेरियल्समा छिराइन्छ।
सिन्धु मेटेरियल्सभित्र लगेर ट्रकमा युरो र डलर राखिएको अनुसन्धानमा पाइएको छ। विदेशी मुद्रा ट्रकमा राख्दा नारायण पनि त्यहीँ रहेको कुसाङले बयानका क्रममा बनाएका छन्। त्यो बेलुका नारायणसँग गफ गरिरहँदा कालो वर्ण र अग्लो कदका एक जना ट्रकबाट झर्दै गर्दा देखेको कुसाङले खुलाएका छन्। “मेरो गाडीबाट झरेको देखेर ‘के गरेको?’ भनेर सोधेको थिएँ। नारायणले ‘मेरो केटा हो’ भन्दै त्यो मान्छेलाई ‘केटा काम सकियो?’ भनेर सोधेका थिए,” कुसाङले बयानमा भनेका छन्।
त्यसपछि कुसाङलाई ‘राम्रोसँग जानु’ भन्दै नारायण पनि सिन्धु मेटेरियल्सबाट निस्किएका थिए। अनुसन्धान अधिकारीसँगको बयानमा कुसाङले कालो वर्णका व्यक्तिको नाम खुलाएका छैनन्। तर, अदालतमा भने चिनियाँ नागरिक दावा रहेको बयान दिएका छन्।
ट्रकमा अवैध मुद्रा राखिएको सिन्धु मेटेरियल्स नारायण, हरिबहादुर भण्डारी (राजकुमार), जीवनकुमार भण्डारी र तुलसी भण्डारीको संयुक्त लगानीमा सञ्चालित छ। जीवनले विभागमा गरेको कागजमा सिन्धु मेटेरियल्समा चारै जनाको लगानी रहेको खुलाएका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का वडाध्यक्ष समेत रहेका जीवन र राजकुमार दाजुभाइ हुन्। हरि भने लामो समयदेखि नारायणसँगै काम गर्दै आएका छन्। हरिलाई कतिपयले नारायणको चालकका रूपमा चिन्छन् भने कतिपयले हरहिसाब हेर्ने व्यक्ति।
अनुसन्धान प्रतिवेदनमा सामेल कागजातअनुसार, विदेश मुद्रा बरामद हुनुभन्दा एक साताअघि मात्रै बालखण्डे बडी बिल्डर्समा लगेर ट्रकमा सामान राख्ने ठाउँ बनाइएको थियो। कुसाङले नै सामान राख्ने ठाउँ बनाउन लगाएको ग्यारेजका तीन जना कामदारले गरेको कागजातमा उल्लेख छ।
सिन्धुपाल्चोकका नारायणको घर टोखामा पनि छ। टोखास्थित उनको घरमा चिनियाँ नागरिक आउजाउ गर्ने गरेको पाइएको छ। नारायणको घरमा काम गर्नेहरूले ‘वेलावेला चिनियाँ नागरिकहरू आउने गरेको देखेको’ कागजात गरेका छन्।
कुख्यात कारोबारी
सुन तस्करी, हुण्डी र अवैध मुद्रा कारोबार जस्ता अपराधको दुनियाँमा कुख्यात नाम हो, नारायण। उनी अरूकै नाममा निकालिएको मोबाइल नम्बर प्रयोग गरेर अवैध कार्य सञ्चानल गर्दै आएको अनुसन्धानमा देखिएको छ। नारायणले नियमित रुपमा चलाउने मोबाइल नम्बर युनिता खत्रीको नाममा छ। विदेशी मुद्रा बरामद भएको दिन यो मोबाइलबाट कुसाङको मोबाइलमा २८ पटक कुराकानी भएको पाइएको छ।
युनिता को हुन् भन्ने अनुसन्धानमा खुल्दैन। उनीहरू परिवारसरह बस्ने गरेको नारायणको घरमा काम गर्ने एक जनाको बयान छ। विदेशी मुद्रा बरामद भएकै दिनदेखि नारायण घर नआएको काम गर्नेहरूले बताएका छन्। युनिता र नारायणका छोरा दीपेश पनि भोलिपल्ट बिहानै घरबाट निस्किएका थिए। उनीहरू अहिलेसम्म नफर्किएको कामदारले दिएको बयानमा उल्लेख छ। “घरबाट निस्कँदा युनिताले ‘घर राम्रोसँग रेखदेख गर्नु’ भनी गएकी हुन्,” एक कामदारले बयानका क्रममा भनेका छन्।
कल डिटेल रिपोर्ट (सीडीआर) अनुसार, विदेशी मुद्रा बरामद नहुञ्जेलसम्म नारायण टोखा क्षेत्रमै थिए। प्रहरीले सामान सहित कुसाङलाई पक्राउ गरेपछि टोखाको बालकुमार मन्दिरबाट एकाएक उनको मोबाइल बन्द भएको थियो। आफूले चलाउने मोबाइल बन्द गरेर नारायणले सहयोगी हरिबहादुर भण्डारीको मोबाइबाट कुसाङलाई सम्पर्क गरेका थिए। यो नम्बर पनि तारा रेग्मीको नामबाट निकालिएको छ।
नारायणले थुप्रै सहयोगी राखेर गैरकानूनी कार्य गरिरहेको देखिन्छ। कुसाङ पक्राउ पर्नुभन्दा अघि र पछि नारायणको सम्पर्क सरोज कोइरालासँग पनि भएको अनुसन्धानमा देखिन्छ। सरोजले विभागमा गरेको कागजमा पाहुना आउँदा नारायणले होटलबारे बुझ्न आफूलाई फोन गर्ने गरेको बताएका छन्। तर, त्यो दिन नारायणका कोही पाहुना आए वा नआएकोबारे अनुसन्धान मौन छ।
सरोज नारायणका भाइ राजकुमारकोमा काम गर्ने व्यक्ति रहेको अनुसन्धान प्रतिवेदनमा छ। त्योभन्दा बढी अनुसन्धान भएको छैन।
त्यस्तै, विदेश मुद्रा बरादम भएको सयम अघि र पछि नारायण र सगुन केसीबीच ७३ पटक कुराकानी भएको सीडीआरबाट खुल्छ। तर, सगुन को हुन् र उनीसँग किन त्यति धेरै पटक फोन सम्पर्क भयो भन्ने अनुसन्धानले उधिनेको छैन।
अदालतबाट उन्मुक्ति
विदेशी मुद्रा बरादम हुनुअघि र पछि नारायणसँग बारम्बार सम्पर्क गरेको देखिएका सरोजले कागज गरेपछि विभागले छोडेको थियो। त्यसपछि भने उनको मोबाइल बन्द छ। सरोज नारायणका भाइ राजकुमारकोमा लेखापालका रुपमा काम गर्ने रहेको २०७४ सालमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो।
२०७४ सालमा २२ किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोप लागेका व्यक्ति हुन्, राजकुमार। उनले संगठित गिरोह खडा गरेर सुन तस्करी गरेको आरोप लागेको थियो। त्यतिवेला उनी भोटेकोशी गाउँपालिकाको अध्यक्ष थिए।
त्यस्तै, सीआईबीले पेम्बा दोर्जेबाट १४ किलोग्राम र विष्णु गौतमबाट एक किलोग्राम सुन बरामद गरेको थियो। अनुसन्धानबाट १२ जनाको समूह बनाएर संगठित तस्करी गरेको खुलेको थियो। उनीहरूले सात किलोग्राम सुन भने पहिल्यै बेचिसकेको पाइएको थियो।
त्यतिवेला सीआईबीले राजकुमार र तस्कर समूहका अन्य सदस्यबीच भएको कुराकानीको अडियो नै फेला पारेको थियो। राजकुमार, चिनियाँ नागरिक गाम्फे भोटे, उनकी पत्नी छेतेन र पेम्बा दोर्जेबीच ‘विच्याट’मा सम्पर्क हुने गरेको पाइएको थियो। सुन बरामद हुँदा काठमाडौंमै रहेका गाम्फे र छेतेन रातारात सीमा कटेका थिए।
राजकुमारको ‘आरआरआर’ नामबाट विच्याट आईडी थियो। चीनबाट ल्याएको सुन कति पोका, कसले लग्यो भनेर समेत पेम्बाले राजकुमारलाई म्यासेज गरेको भेटिएको थियो। कारोबारबारे भएको ‘भ्वाइस म्यासेज’ पनि फेला परेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। प्रयोगशाला परीक्षणमा पनि ‘भ्वाइस मेसेज’ ८१ प्रतिशत मिलेको थियो।
त्यस्तै, नाम्फेले झोला राख्न दिएर आफूलाई फसाएको पेम्बा दोर्जेले अदालतमा बयान गरेका थिए। यही बयानका आधारमा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले पेम्बालाई सात करोड २४ लाख पाँच हजार रूपैयाँ जरिवाना र दुई वर्ष कैद तथा विष्णुलाई ४८ लाख २७ हजार रुपैयाँ जरिवाना र तीन महीना कैद सजाय तोकेको थियो। राजकुमारसहित अन्य १० जनालाई भने सफाइ दिइएको थियो।
यसको मुद्दाको मिसिलमा नारायण र राजकुमार दाजुभाइले आपसी सल्लाहमै कारोबार गरेको पर्याप्त संकेत भेटिन्छन्। तर, नारायणलाई मुद्दा चलाउने गरी प्रमाण नभेटिएको सीआईबीका तत्कालीन निर्देशक पुष्कर कार्की बताउँछन्। “यो समूह सुन, अवैध विदेशी मुद्रा कारोबार, हुण्डीमा जोडिएको देखिएको थियो,” हाल अतिरिक्त महानिरीक्षकबाट अवकाश पाइसकेका कार्की भन्छन्, “संगठित अपराधमा एउटै समूहमा भए पनि एक-अर्कालाई चिन्दैनन्, ‘कोड’ भाषा प्रयोग गर्छन्। त्यो कुरा हामीले यो ‘केस’मा प्रमाणित गरिदिएका थियौं। तर, न्यायालयले छोडिदियो।”
त्यतिवेला पनि हरिबहादुर भण्डारीका कागजात प्रयोग गरेर निकालिएको सिम दुई दाजुभाइ राजकुमार र बच्चु पौडेलले प्रयोग गरेको भेटिएको थियो। त्यतिखेर राजकुमार र बच्चुलाई आफ्नो नाममा सिम निकालिदिएको बताउने हरिबहादुर अहिले विदेशी मुद्रा कारोबारमा जोडिएका छन्। तर, उनलाई अनुसन्धानको दायरा ल्याइएको छैन।
दाजुभाइ नै तस्करीमा
चार दाजुाइ हुन्, बच्चु, नारायण, धुव्र र राजकुमार। अहिले चारै जना गैरकानूनी क्रियाकलापमा मुछिएका छन्। बच्चु हुण्डी कारोबारमा जोडिएका व्यक्ति हुन्।
नारायणले यसअघि नै विदेशी मुद्राको अवैध कारोबारमा डेढ वर्ष जेल सजाय पाएका थिए। २०६० सालको दशकमा राजनीतिक संरक्षणमा फस्टाएको रक्तचन्दन तस्करीमा पनि नारायणको नाम आउँछ। उनी भारतमा बसेर सामान आपूर्ति गर्ने प्रहरीको दाबी छ।
ध्रुव पनि रक्तचन्द तस्करीमा मुछिएका थिए। २०६९ भदौमा सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा ५० जनाभन्दा बढी भरियालाई ६ टन रक्तचन्दन बोकाएर सीमा पार गराउने क्रममा प्रहरीसँग जम्काभेट हुँदा गोली चलेको थियो। प्रहरीको गोली लागेर विवेक श्रेष्ठको मृत्यु भएको थियो भने सहयोगी प्रताप तामाङ र विर्खबहादुर श्रेष्ठ पक्राउ परेका थिए।
पछि त्यसमा संलग्न रहेको आरोपमा ध्रुव पक्राउ परेका थिए। उनी विरुद्ध भने रक्तचन्दन तस्करीमा नभई हातहतियार खरखजना मुद्दा चलाइएको थियो। पक्राउ परेको १५ दिनमै ३० हजार रूपैयाँ धरौटी बुझाएर छुटेका थिए। धु्रुव सिन्धुपाल्चोकमा नेकपा (एमाले)को राजनीतिमा सक्रिय व्यक्ति हुन्। यसअघि उनी फुल्पिङकट्टी गाविसको अध्यक्ष भएका थिए।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, जुनसुकै पार्टी सत्ता र शक्तिमा आए पनि पौडेल दाजुभाइका लागि सहज हुने गरेको देखिएको छ। किनभने उनीहरू चल्तीका सबै पार्टीमा बाँडिएका छन्। हाल फरार रहेका नारायण नेपाली कांग्रसमा आवद्ध छन्। अर्का भाइ राजकुमार नेकपा (माओवादी केन्द्र)मा आवद्ध छन्। उनी २०७४ सालमा भोटेकोशी गाउँपालिकाको अध्यक्ष भएका थिए।
राजनीति र आर्थिक शक्ति आर्जनले चार दाजुभाइले नेपाल, चीन र भारतबीच अन्तरदेशीय कारोबार गर्न सघाएको छ। उनीहरूले खडा गरेको अपराधको साम्राज्य भत्काउन प्रहरी र प्रशासनलाई पनि मुश्किल भएको देखिन्छ। दुई दशकयताका घटनाक्रमले उनीहरू विरुद्ध राम्ररी अनुसन्धान नभएको देखिने गरेको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी बताउँछन्। उनी भन्छन्, “यसपाली त झन् संगठित अपराधमा अनुसन्धान नै नभएकाले उनीहरूको अपराध साम्राज्य भत्किने अपेक्षा गर्नु ब्यर्थ छ।” हिमालखबर