आजको राशिफल बि.सं २०८२ वैशाख १० गते बुधवार, ई.सं २०२५ अप्रिल २३, नेपाल सम्वत ११४५ चाैलागा दशमी, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, अनुराधा नक्षत्र, करण: बब, योग: शुक्ल । आज नेपालमा सूर्योदय बिहान ०५ः ३२ मा भएको छ, सूर्यास्त साँझ ०६ः३२ मिनेटमा हुनेछ ।
आज कुनै महत्त्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौको सातु पिएर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्त्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ६ बजेर ३५ मिनेट देखि ९ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, इत्यादिमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्न माणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठिक हुन्छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौँ कि त्यो गरौँ भन्ने अलमल हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईँलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईँप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धनको कारोबारमा जोखिम र रिस्क भएको दिन हो, नयाँ कारोबार वा व्यवसाय फाप्दैन, अनि कुनै करार वा सम्झौता गर्नु छ भने राम्ररी पढ्नु बेस हुन्छ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईँको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठिक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्त्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्धी पछि पर्नेछन्, लगनशील बन्न सके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हताश र भावुक बन्न सक्छ । मनमा सार्वजनिक हित र परोपकारको भावना पलाउन सक्छ । कमाएको धनको व्यवस्थापन गर्ने तथा व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय छ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानीका स्रोतहरू बढ्नेछन्, पछिसम्म फाइदा हुने कुनै काम प्रारम्भ गर्न सकिने छ । प्रशासनिक वा राज्य पक्षका काम गर्न अनुकूल समय छ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठिक हुँदैन । सुख सुविधा वा सजावटका सामान वा भाँडाकुँडा खरिद गर्न अनुकूल समय छ, तर घर व्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्ट कट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठिक हुन्छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेवारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईँको मनोभाव र विचारको कदर गर्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घर व्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहु प्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य स्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खास गरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुटाउनुपर्ने हुन्छ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुटाउन अप्ठ्यारो पर्न सक्छ, तर कसो कसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । विशेष काम गर्ने परिस्थितिमा दुबिधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएर मात्र काम थाल्नु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईँका कुरा नबुझिदिँदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । प्रेमीको स्वास्थ्य स्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्न सक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । यात्रामूलक कामबाट लाभ लिन सकिने छ, तर रिसाहा, घमन्डी र अहङ्कारी स्वभावको विकास हुनसक्छ, हरेक व्यवहारमा संयमता अपनाउनुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक वातावरण ठिकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्न सक्ने समय छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत वृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेवारीमा बित्न सक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ ।