काठमाडौं, १२ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय बैठक सकिनुअघि नै सञ्चारमाध्यममा चुहावट भएको बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगको एक कार्यक्रममा बोल्दै उहाँले मन्त्रिपरिषद् बैठक सकिनुभन्दा १८ मिनेटअघि नै अनलाइनमा समाचार आइसकेको बताउनुभयो । बैठकमा मन्त्री र मुख्यसचिव मात्र रहेको अवस्थामा कसरी सूचना बाहिरियो भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे कुरा गरेको बताउनुभयो ।
सूचना चुहावट रोक्न मन्त्रीहरूलाई मोबाइल बाहिर राखेर बैठकमा आउन आग्रह गरिएको र मन्त्रिपरिषद्का निर्णयहरू २४ घण्टापछि मात्र सार्वजनिक गर्ने निर्णय गरिएको उहाँले स्पष्ट पार्नुभयो । प्रवक्ताले आधिकारिक घोषणा गर्नुअघि नै समाचार आउनु गम्भीर विषय भएको उहाँको भनाइ थियो ।