काठमाडौँ, १५ वैशाख। मौसम पूर्वानुमान महाशाखाले आउँदो मङ्गलवार र बुधवार देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको बताएको छ ।
महाशाखाले सोमबार साँझ एक विशेष बुलेटिन जारी गर्दै हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि असर रहेको जानकारी दिएको छ ।
अहिले कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज राति देशभरका हिमाली र पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्यतया बदली रहने र मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
यसै गरी, मङ्गलवार र बुधवार देशका सातै प्रदेशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि सामान्यतया बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमको जानकारी राखेर यात्रा गर्दा तथा बाहिर निस्कँदा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।