काठमाडौँ, १६ वैशाख। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले कुर्सीमा बस्ने मात्र नभई जनताले देख्ने गरी परिणाम दिने काम गर्नुपर्नेमा जोड दिएका छन्।
काँग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारको काम गराइले नतिजा देखाउनुपर्ने बताए। उनले भने, ‘सरकार भनेको बस्ने ठाउँ मात्र होइन, काम गरेर देखाउनुपर्छ। जनताले खोजेको परिणाम हो। हामी परिणाममुखी काममा विश्वास गर्छौँ।’
हाल नेपाली काँग्रेस नेकपा (एमाले) सँग मिलेर सरकारमा रहेको प्रसङ्ग उल्लेख गर्दै थापाले यो गठबन्धनलाई निरन्तरता दिइने स्पष्ट पारे। उनले काँग्रेसका तर्फबाट वर्तमान समीकरणलाई सहज ढङ्गले अगाडि बढाउन पूर्ण प्रतिबद्धता रहेको बताए। ‘हामी अहिले एमालेसँग सरकारमा छौँ र हाम्रो तर्फबाट यसलाई सहज रूपमा अघि बढाउने प्रतिबद्धता छ,’ उनले भने, ‘तर यो समयलाई हामीले खेर फाल्नुहुँदैन, यसको भरपुर सदुपयोग गरेर परिणाम निकाल्न प्रयोग गर्नुपर्छ।’