दाङ, १७ वैशाख। घोराही बजारका भित्री सडकहरूमा डिभाइडर नहुँदा दुर्घटना बढेको गुनासो बढेपछि अहिले सडक सुरक्षाका लागि नयाँ काम सुरु भएको छ।
यही समस्यालाई सम्बोधन गर्न घोराही उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालय मिलेर घोराही बजार क्षेत्रभित्रका भर्खरै अस्फाल्ट प्रविधिबाट बनेका सडकहरूमा सडक लेन र जेब्रा क्रसिङ बनाउन थालेका छन्। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीका प्रेस सल्लाहकार निमुसङ्गम घर्तीका अनुसार अहिले बजारका सडकहरूमा जेब्रा क्रसिङ बनाउने काम भइरहेको छ।
उहाँका अनुसार, दीपशिखा रोडसहित कुल १० ठाउँमा पैदल यात्रुका लागि जेब्रा क्रसिङ बनाइँदैछ। यो कामले सडक दुर्घटना कम हुने विश्वास लिइएको छ।
स्थानीय बासिन्दाहरूले सडक कालोपत्रे भए पनि डिभाइडर नहुँदा जोखिम बढेको भन्दै गुनासो गर्दै आएका थिए। घोराही उपमहानगरपालिका–१७ गुलरियाका स्थानीय अशोक चौधरीले जेब्रा क्रसिङले दुर्घटना कम गर्न पक्कै मद्दत पुग्ने बताउनुभयो। “यसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र पैदल हिँड्नेहरूलाई बाटो काट्न धेरै सहज बनाउँछ,” उहाँले भन्नुभयो, “स्कुल जाने विद्यार्थीहरूका लागि त यो अझ बढी उपयोगी हुनेछ।”
जेब्रा क्रसिङ र सडक लेन मार्किङले व्यवस्थित ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने र पैदल यात्रु तथा सवारी चालक दुवैलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। यस कार्यले घोराही बजारको सडक सुरक्षामा सुधार ल्याउने आशा गरिएको छ।