काठमाडौँ, १७ वैशाख। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई आज प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । नाउपा र जनमत पार्टीबिच एकता सभाको तयारी भइरहेका बेला राजधानीको कमलादीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले जानकारी दिए।
टीकापुर घटनामा पाँच वर्ष तीन महिना जेल सजाय भुक्तान गरेका चौधरीलाई गत वर्ष गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते सरकारले आममाफी दिएको थियो । सो आममाफीपछि उनी कारागारबाट रिहा भएका थिए। तर, टीकापुर घटनाकी पीडित शारदा कडायतले उक्त आममाफी विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।
एसएसपी अधिकारीका अनुसार, सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्कालका लागि चौधरीलाई थुनामा राख्न आदेश दिएको थियो । अदालतको यही आदेश कार्यान्वयनका क्रममा उहाँलाई पक्राउ गरी डिल्लीबजारस्थित कारागार चलान गरिएको छ ।
चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले आजै पार्टी एकता घोषणा गर्ने बृहत् तयारी गरेका थिए । चौधरीको अप्रत्याशित पक्राउसँगै एकता घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रम प्रभावित हुन पुगेको छ । स्मरण रहोस्, २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा एक नाबालकसहित आठ जनाको ज्यान गएको थियो ।