काठमाडौं, १८वैशाख। कक्षा १२ को स्थगित भएको वार्षिक परीक्षा आगामी वैशाख २१ गतेदेखि नै सुरु हुने भएको छ। सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार सिंहदरबारमा भएको वार्तामा यस विषयमा सहमति जुटेको हो।
शिक्षक आन्दोलनका कारण यसअघि वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा स्थगित भएको थियो। लामो समयको अन्योलपछि सहमति जुटेकाले परीक्षाको तयारीमा रहेका विद्यार्थी र अभिभावकलाई राहत मिलेको छ। शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सहभागी वार्तामा परीक्षा पूर्वनिर्धारित तालिका अनुसार नै सञ्चालन गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए।
वार्ताका क्रममा सरकार शिक्षकहरूले प्रस्तुत गरेका नौबुँदे मागमा सकारात्मक देखिएको छ। सहमति अनुसार, आगामी असार १५ गतेभित्र नयाँ शिक्षा ऐन जारी गरिने लक्ष्य राखिएको छ। शिक्षकहरूले देशभरका सातवटै प्रादेशिक अस्पताल र निजामती अस्पतालमा शिक्षक तथा कर्मचारीका लागि सहुलियत दरमा उपचारको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए, जसलाई सम्बोधन गर्न सरकार सहमत भएको बुझिएको छ।