काठमाडौँ, १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू सक्रिय भएकाले तिनका विरुद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।
बिहीबार एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्य प्राप्तिमा गतिशील हुन आग्रह गरेका हुन् ।उनले भने,‘फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको छ ।
उनीहरूको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरूले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरूले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुपर्छ । यसमा श्रमजीवी विगतमा झैँ वर्ग सचेत हुनुपर्छ । समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौँ ।
हामीले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्छौँ । हाम्रो झन्डा ख्याल ख्यालमा रातो भएको होइन, मजदुरहरूले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झन्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झन्डाहरू राता हुन्छन् । हाम्रो देशको झन्डामा पनि रातो रङ्ग रहेको छ । हामी सङ्घर्षको गाथा झल्काउने झन्डा छोड्ने छैनौँ ।’