रेसुङ्गा, १९ वैशाख। उत्तरमा सेता हिमाल छ । समथर रेमी गाउँमा टम्म परेको घर छन् । शान्तिपुर बजारबाट निस्कएपछि नजिकैको रेमी गाउँ पुगिन्छन् । रेमीको थाप्लोमा आर्कषक टिमुरे ताल छ ।
चन्द्रकोट गाउँपालिका –४ को रेमी गाउँमा राना मगर, पुन, श्रीस र नेवारलगायतका करिव डेढसय जनजाति समुदाय बस्दैआएका छन् । पर्यटक मनोरञ्जनकै लागि होमस्टे पुग्छन् । पर्यटकलाई खानपान, बसाई र कला संस्कृतिले नै आकर्षित गर्ने हो ।
त्यसमा रेमी गाउँ अब्बल छ । रेमी गाउँमा सालैजो, सोरठी, सुनिमाया र यानीमाया प्रख्यात छन् । टिमुरेको नजिकको रेमी गाउँमा टिमुरको चट्नी, साँधेको अचार, मकै, भट्ट, फापर, कोदोको रोटी र लोकल कुखुराको रससँग रम्न पाइन्छ । नजिकका शान्तिपुर बजार र टिमुरे तालका कारण होमस्टेको भविष्य राम्रो छ ।
त्यसका लागि समुदायकै सकारात्मक भावना आवश्यक रहेको होमस्टे सञ्चालक गौकुमारी पुनले बताउनुभयो । स्थानीय परिकार निर्माण, स्वागत सत्कारसँगै व्यावस्थापकीय पक्षमा तालिम पाएका दिदिबहिनीहरु होमस्टेका सञ्चालनको लागि उत्साहित भएको पुनले बताउनुभयो ।
रेमीको टिमुरे सामुदायिक होमस्टे २०७६ सालमै सञ्चालन भएको हो । तर, निरन्तरताको चुनौतीका कारण लयमा थिएन् । धेरै गाउँहरु बसाइ–सराइँले खाली हुँदै गएका बेला रेमीमा प्रभाव खासै छैन् ।
प्राकृतिक रुपमा आकर्षक टिमुरे तालको नजिकै पर्ने भएकाले होमस्टेलाई जोडेर पर्यटकीय आकर्षण बढाउन खोजिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । रेमीमा होमस्टे सञ्चालन भएको धेरै बर्ष भइसक्यो । तर, धेरै ठाउँमा निरन्तरताको चुनौती छ ।
अहिले स्थानीय समूहलाई सवलीकरण गरेर अगाडि बढाउन सात दिनको तालिम समेत सञ्चालन भएकाले आगामी दिनमा सबैखाले सहजीकरण गर्ने केसीले बताउनुभयो ।
टिमुरे तालको पहिचान स्थापित गर्न, गाउँको उत्पादन र कला संस्कृतिको संरक्षण गर्न रेमी गाउँमा टिमुरे सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । पहाडको टुप्पोमा पर्यटकीय क्षेत्र टिमुरे र नजिकै शान्तिपुर बजार भएकाले पर्यटकको रोजाइमा होमस्टे पर्ने भएकाले महिलाहरु कस्सिएका छन् । पहाडको काखको समथर रेमीगाउँ वातावरणीय दृष्टिले रमणीय छ ।
जिल्लाको थुप्रै पर्यटकीय क्षेत्र नेताका भाषणमा मात्र सीमित छन् । त्यस्ता क्षेत्रको समयमै संरक्षण, विकास र प्रचार–प्रसार नहुँदा कैयौँ आम्दानी गुम्दै गएका छन् । प्रकृतिले निःशुल्क दिएका अनुपम उपहारको सही सदुपयोग गर्ने बिषयमा पनि तीनै तहका सरकारसँग सोच र खोजको खडेरी छ । अहिले धेरै गाउँ र ठाउँ बसाइसराइले संकटमा छ ।
गाउँको बसाइसराई कम गर्न होमस्टे सञ्चालनको योजना चन्द्रकोट गाउँपालिकाको रहेको छ । गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रममार्फत रेमी सामुदायिक होमस्टेमा तालिम सञ्चालन गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो ।
होमस्टेमा पुर्वाधार र सामग्री पहिले नै सहयोग भएकाले नेपाल पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठानसँग समन्वय गरेर तालिम प्रदान गरिएको पौडेलले बताउनुभयो । गोरखापत्र