चितवन,२१ बैशाख। चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्यामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०/८१ चैत महिनाको तुलनामा चालु आव २०८१/८२ चैतसम्म चितवन निकुञ्ज घुम्न आउने पर्यटक ३७ प्रतिशतले कमी आएको देखिएको छ । निकुञ्जका अनुसार गत आव चैतसम्म २ लाख ५० हजार ३ सय ६७ आन्तरिक तथा वाह्य पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
चालु आव चैत मसान्तसम्म भने १ लाख ८२ हजार २ सय २७ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए । उनका अनुसार चालु आव चैतसम्म ९२ हजार ८ सय ९० नेपाली, सार्कका १६ हजार ७ सय ९८ र तेस्रो देशका ७२ हजार ५ सय ३९ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् । गत आव चैतसम्म १ लाख ५० हजार नेपाली, २३ हजार ६ सय ३८ सार्कका र ७५ हजार ९ सय ४४ तेस्रो मुलुकका पर्यटकले निकुञ्ज घुमेका थिए ।
प्रमुख संरक्षण अधिकृत पन्तले निकुञ्जमा आफूहरू धेरै भीड बढाउने पक्षमा नभएको बताए । उनले निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्या र सफारी गर्ने जिप संख्यामा कमी आउँदा पर्यटकसँगै राजस्व घटेको भने बताए । पर्यटक र राजस्व लक्ष्य यति नै भन्ने नहुने भन्दै पन्तले गुणस्तरीय पर्यटकमा जोड दिइएको बताए । उनले आफूहरूको ध्यान संरक्षणमा केन्द्रित रहेको दाबी गरे । पन्तले यस्तो दाबी गरे पनि गत वर्ष निकुञ्जमा जिप सफारी निकैपछि खुल्नु, असोजमा बाढी आएको घटनाले पर्यटक संख्यामा कमी देखिएको हो । अघिल्लो आव चैतसम्म १ लाख ५० हजार नेपालीले निकुञ्ज भ्रमण गरेकोमा चालु आव चैतमा घटेर ९२ हजारमा अडेको छ ।
चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् । निकुञ्जभित्र जिपमा मात्रै पर्यटक घुम्ने गरेका छन् । निकुञ्जभित्र हात्ती लैजान रोक लगाइएको छ । प्रतिजिप निकुञ्जले ५ हजार लिने गर्दछ । निकुञ्जमा नेपाली पर्यटकसँग प्रतिव्यक्ति १ सय ५० रुपैयाँ, सार्क पर्यटकसँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।
चितवनमा मुख्यगरी निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन् । पर्यटक हात्ती, जिप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्न पर्यटकले टिकट काट्नु पर्दछ ।