बुलिङटार, २४ वैशाख। बुलिङटार गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।
कार्यक्रममा सरोकारवालाहरुले कालिगण्डकी डाइभर्सन आयोजना र नदीजन्य पदार्थ उत्खनन्प्रति चासो व्यक्त गरेका थिए । उनीहरुको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीमगरले कालिगण्डकी डाइभर्सन आयोजना सञ्चालन हुँदा कालिगण्डकी सभ्यता र स्थानीय जनजीवनमा प्रतिकूल असर पर्ने भएकाले यसबारे विभिन्न स्थानीय तहसँग छलफल भइसकेको र आफू स्वयं सर्वोच्च अदालतमा भएको छलफलमा समेत सहभागी भइसकेको बताए ।
नदीजन्य पदार्थ उत्खनन्को विषयमा विगतमा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उत्खनन रोकिएको र हाल सो सम्बन्धमा रहेको रिट खारेज भएकाले अब कानुनी प्रक्रिया पूरा गरेर उत्खनन कार्य अघि बढाइने जानकारी उनले दिए । उनले चालु आवमा योजनाहरूलाई प्राथमिकीकरण गर्दै सिंचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको जनाए । गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य पनि अब सक्रिय रूपमा अघि बढाइने तयारी रहेको जानकारी समेत अध्यक्ष सुनारीले दिएका थिए ।
गाउँपालिकाले सुरूवात गरेका कामहरुमा स्थानीय समुदायको समेत सहभागिता हुनसक्दा मात्रै विकास निर्माणको कामले पूर्णता पाउने भन्दै उनले सबै पालिकावासीको साथ र सहयोगको अपेक्षा राखे । आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायहरुको जनजीवन सुधारका लागि गाउँपालिका सदैव अग्रसर रहेको भन्दै उनले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु पालिकाले अगाडि सारेको बताए ।
कार्यक्रममा उपाध्यक्ष दिलमाया रानामगरले सहभागी सबैलाई धन्यवाद दिँदै न्यायिक समिति तथा मेलमिलापसम्बन्धी काम, सेवाप्रवाह र उपलब्धिबारे जानकारी गराइन् । उनले स्थानीय समुदायहरुमा न्यायिक समितिको काम र क्षेत्राधिकारको बारेमा जानकारी नभएका कारण पनि उल्लेखित रुपमा न्यायिक समितिमा उजुरीहरु आउन नसकेको बताइन् ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रगतिबारे जानकारी दिइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले प्रस्तुतिकरण गर्दै चालु आवमा हालसम्म २२२ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए । उनका अनुसार चालु आव. २०८१/८२ को लागि गाउँ सभाबाट स्वीकृत चालु तथा पुँजीगत योजनाहरुमा विनियोजन गरिएको कुल रकमको चालुतर्फ १८ करोड ६५ लाख ८७ हजार ४७ रुपैयाँ (५४.०२ प्रतिशत) र पुँजीगततर्फ चार करोड एक लाख ५२ हजार ६ सय ८१ रुपैयाँ (२६.८ प्रतिशत) बजेट खर्च भइसकेको छ । यस अवधिमा आन्तरिक आयसहित विभाज्य कोषबाट आम्दानी संकलन गरिएको तथा सिंचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका क्षेत्रमा प्राथमिकताका साथ योजना कार्यान्वयन भइरहेको उनले जानकारी दिए ।
भुसालका अनुसार स्वास्थ्य सेवा क्षेत्रमा बुलिङटार गाउँपालिका गण्डकी प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको छ । पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा ९ वटा विद्यालयमा विद्युतीय हाजिरी प्रणाली सञ्चालनमा आएको छ भने राजस्व प्रणाली पनि पूर्णरूपमा अनलाइन गरिएको छ । डिजिटिल भिलेज निर्माण कार्य सम्पन्न भइसकेको र सबै वडाबाट घुम्ती शिविर सञ्चालन गरिएको जानकारीसमेत उनले दिए ।
कार्यक्रममा गाउँपालिकाले पर्याप्त जनशक्ति, स्रोतसाधनको न्यूनता, नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी कानुनको दोहोरोपन, विपद् व्यवस्थापनमा कठिनाइँ, अत्याधिक जनअपेक्षा र सीमित स्रोतजस्ता समस्या र चुनौतीको सामना गरिरहेको जानकारी गराउँदै संघीय सरकारसँग स्रोतसाधनको स्वायत्तता, ठूला तथा अन्तरपालिका योजनामा प्राथमिकता, विपद् व्यवस्थापनमा सक्रियता र दक्ष जनशक्तिको सहज उपलब्धताको अपेक्षा राखेको बताइएको छ ।