रत्ननगर, २४ वैशाख। रत्ननगर–१ वडा कार्यालयको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानस्वरुप ३० थान टेबल पंखा वितरण गरिएको छ ।
वडास्तरीय अपाङ्ग समितिका संयोजक चन्द्रबहादुर गिरीको अध्यक्षता एवम् रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा वडास्तरीय बजेटबाट सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नगर प्रवक्तासमेत रहेका वडाध्यक्ष सापकोटाले अपाङ्ग समितिको राय र सल्लाहअनुसार नै यो कार्यक्रम सम्पन्न भएको बताए । उनले भने, ‘हाम्रो वडाले सधैँ अपाङ्गता भएका व्यक्तिहरूको हितमा काम गर्दै आएको छ । समितिको सुझाव र सहकार्यमा यस्ता कार्यक्रमहरूले उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छु ।’
गर्मी यामको बढ्दो तापक्रमलाई मध्यनजर गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडास्तरीय अपाङ्ग समितिका संयोजक चन्द्रबहादुर गिरीले जानकारी दिए । वितरण गरिएको टेबल पंखाको मूल्य ५४ हजार रुपैयाँको रहेको छ ।
कार्यक्रममा वडा सचिव महेश सुवेदी, अपाङ्गता समितिका सदस्यहरूलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन निर्मल पौडेलले गरेका थिए ।