सार्वजनिक पद धारण गरेका व्यक्तिको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

गोर्खा  । गोर्खा भच्चेकको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले विहिबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुयाउने उद्देश्यले सो निर्णय गरिएको बताएको छ ।

मिति २०८० ०१ २० को अजिरकोट गाउँपालिकाबाट सार्वजनिक पदधारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, वि.व्य.स. र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका वालवालिकाहरुलाई बाल कक्षा देखी ८ कक्षा सम्मका सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय भएको हुँदा सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” सूचनामा भनिएको छ ।