
पत्रकारितामा निष्ठा धर्मराएको छ: वरिष्ठ पत्रकार रिसाल
काठमाडौँ, २४ वैशाख । विसं १९८५ मा भक्तपुरमा जन्मनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुनुहुन्छ । यद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहनुभएको छ । विसं २०२० मा राससमा सेवा प्रवेश गर्नुभएका उहाँ विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्कनुभएको थियो । राससमा केही वर्ष प्रमुख समाचारदाता रहनुभएका उहाँ त्यतिबेला देशकै चर्चित पत्रकार मानिनुहुन्थ्यो भने अहिले पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ ।
पत्रकारितालाई निष्ठामुखी बनाउनुपर्ने खाँचो औँल्याउँदै उहाँ भन्नुहुन्छ, “पत्रकारितालाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन सबैभन्दा पहिला पत्रकार नै इमान्दार हुनुपर्छ ।” मिडियामा पारदर्शीता हुनुपर्छ । पत्रकारिता स्वयं पारदर्शी भएन भने अरु को हुन्छ र ? उहाँको प्रश्न छ । सीमित स्रोत र साधनका बीचमा काम गर्नुप...